0
प्रतिक्रिया
पोखरा। पोखरा–७, मासवारस्थित मदरल्याण्ड माविमा गण्डकी प्रदेश स्तरीय चौंथो संस्करणको गणित हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको छ ।
माध्यमिक शिक्षा परीक्षा दिएका विद्यार्थीका लागि आयोजित प्रतियोगिता शनिबारदेखि सुरु भएको हो । विद्यार्थीमा गणित शिक्षाको ज्ञान बढाउँदै परीक्षापछि फुर्सदिला भएका विद्यार्थीलाई पाठ्यक्रममा जोड्नका लागि प्रतियोगिता आयोजना गरिएको विद्यालयका प्लस टु इन्चार्ज नारायण आचार्यले बताए ।
यो बेला विद्यार्थी फुर्सदिलो बनेको र उनीहरुलाई यस्ता कार्यक्रममार्फत अध्ययनमा सक्रिय बनाउन सकिने उनले बताए । आचार्यका अनुसार प्रतियोगितामा विभिन्न ४७ वटा टिमले सहभागिता जनाएका थिए ।
ती टिममा १ सय ५० जना विद्यार्थी सहभागि छन् । हरेक टिममा २ देखि ३ जनाको दरले विद्यार्थीले प्रतियोगितामा भाग लिएको आचार्यले बताए ।
सइइ परीक्षा दिएर फुर्सदिला भएका विद्यार्थीलाई पढाईमा जोड्नका लागि प्रतियोगिता आयोजना गरिएको उनले बताए । पोखरा सहरभित्र र आसपासका जिल्लाबाट पनि विद्यार्थीहरु प्रतियोगितामा सहभागि हुन आएका थिए ।
विद्यालयका प्राचार्य डा. नारायण बरालले विद्यार्थीको अन्तरनिहीत क्षमता प्रस्ट्याउने मौका विद्यालयले दिएको बताए । उनका अनुसार सबै कुरा पुस्तकमा पढेर मात्र हुँदैन । व्यक्तिगत दक्षता र रुचीमा पनि भर पर्छ ।
प्रतियोगितामा प्रथम हुने टिमले ३० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । दोश्रो हुनेले २० हजार, तेश्रोले १० हजार र चौथोले ५ हजार रुपैयाँ नगद पुरस्कार सहित प्रमाणपत्र पाउनेछन् । मदरल्याण्ड माविमा विज्ञान र व्यवस्थापन तर्फ ११ र १२ कक्षामा अध्यापन हुन्छ ।
Copyright © 2024 | All rights reserved.