0
प्रतिक्रिया
पोखरा। पोखरा महानगरपालिकाको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको दोस्रो दिन महानगरपालिका अन्तर्गतका विभिन्न महाशाखा तथा शाखाले आफ्नो वार्षिक कार्यप्रगति प्रस्तुत गरेका छन्।
आर्थिक विकास, सामाजिक विकास, शिक्षा, स्वास्थ्य, प्रशासन, राजस्व, वित्त व्यवस्थापन, शहरी विकास तथा पर्यटन, योजना तथा अनुगमन तथा सूचना प्रविधि महाशाखाले चालु आर्थिक वर्षमा सम्पन्न भएका कार्यक्रम, हासिल भएका उपलब्धि, बजेट कार्यान्वयनको अवस्था तथा सेवा प्रवाहका विषयमा समीक्षा गरेका थिए।
सम्बन्धित महाशाखा तथा शाखाका प्रमुखहरूले आफ्नो वार्षिक प्रगति प्रस्तुत गर्दै कार्यान्वयन भएका योजना, बजेट खर्चको अवस्था, सेवा प्रवाहका उपलब्धि तथा देखिएका चुनौतीबारे जानकारी दिएका थिए।
समीक्षा क्रममा कार्यक्रम तथा योजनाको कार्यान्वयन अवस्था, बजेट खर्च, सेवा प्रवाहमा देखिएका समस्या, उपलब्धि तथा आगामी दिनमा सुधार गर्नुपर्ने विषयमा विस्तृत छलफल गरिएको थियो।
साथै नागरिकलाई प्रभावकारी, पारदर्शी र गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएका कार्यक्रमहरूको प्रभावकारिताको पनि समीक्षा गरिएको थियो।
योजना महाशाखा प्रमुख अशोक सुनारका अनुसार समीक्षा कार्यक्रमको पहिलो दिन वडा कार्यालयहरूको तथा दोस्रो दिन महानगरका महाशाखाहरूको कार्यप्रगति समीक्षा गरिएको हो।
महानगरपालिकाले वार्षिक समीक्षा कार्यक्रमबाट विगत एक वर्षको कार्यसम्पादनको मूल्याङ्कन गर्दै आगामी योजना तथा कार्यक्रमलाई अझ प्रभावकारी बनाउन सुधारका क्षेत्र पहिचान गर्ने अपेक्षा गरेको छ।
Copyright © 2024 | All rights reserved.