0
प्रतिक्रिया
पोखरा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद बिना गुरुङले कास्की जिल्ला कारागारमा आमासँग बस्न बाध्य पाँच वर्षमुनिका बालबालिकाको अवस्था चिन्ताजनक रहेको बताएकी छन्।
प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद गुरुङले संविधान र कारागार ऐनले ती बालबालिकाको शिक्षा, स्वास्थ्य, हेरचाह तथा समग्र व्यक्तित्व विकासको अधिकार सुनिश्चित गरे पनि व्यवहारमा त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताइन्।
उनले बालबालिका राष्ट्रका भविष्य भएकाले कारागारमा रहेका निर्दोष बालबालिकाको सर्वोत्तम हित सुनिश्चित गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै यस विषयमा सम्बन्धित मन्त्रालयको गम्भीर ध्यानाकर्षण गराइन्।
सांसद गुरुङले कास्की जिल्ला कारागारमा चार सय २० जनाको क्षमता भए पनि हाल करिब सात सय २० जना कैदीबन्दी रहेको जानकारी दिँदै अत्यधिक चापका कारण स्वास्थ्य तथा सुरक्षासम्बन्धी चुनौती बढेको बताइन्।
उनले कारागारमा खानेपानीको समस्या रहेको भन्दै त्यसको शीघ्र समाधान गर्न र आवश्यक व्यवस्थापन गर्न सम्बन्धित निकायसँग आग्रह गरिन्।
Copyright © 2024 | All rights reserved.