बैशाख २७, २०८३, आइतबार

नवनिर्वाचित आत्रेय र ओझालाई लेउवासंघको बधाई तथा सम्मान


Advertisement Image
clock icon 2 hours, 5 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

लेखनाथ। नेपाल उद्योग वाणिज्य संघको हालै सम्पन्न ६०औँ निर्वाचनबाट कार्यकारिणी सदस्य पदमा अत्यधिक मतका साथ निर्वाचित भएका संघका पूर्व अध्यक्ष छत्रधर आत्रेय र गण्डकी प्रदेश उद्योग वाणिज्य संघको कोषाध्यक्षमा निर्वाचित संघका पूर्व वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझालाई शनिबार बधाई तथा सम्मान गरिएको छ ।

लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गरेको कार्यक्रममा संघकी अध्यक्ष जानुका पराजुली अधिकारीले नवनिर्वाचित आत्रेय र ओझाको सफलताले संघको छवि अझ उचाइमा पुगेको बताइन् ।

उनले उनीहरूको सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्दै व्यवसायीका साझा समस्यालाई केन्द्रीय तहसम्म प्रभावकारी रूपमा उठाउन संघ अझ सक्षम हुने विश्वास व्यक्त गरिन् ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य बाबुराम गिरीले लेखनाथवासीको एकताले यो सफलता सम्भव भएको उल्लेख गर्दै आगामी दिनमा अझ सुदृढ एकताका साथ अघि बढ्नुपर्नेमा जोड दिए ।

संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण पराजुलीले आत्रेय र ओझाको विजय लेखनाथ मात्र होइन, सम्पूर्ण देशका उद्योगी व्यवसायीको जित भएको बताए । उनले सोहीअनुसार जिम्मेवारी निर्वाह गर्न आग्रह गरे ।

गण्डकी प्रदेश उद्योग वाणिज्य संघको कोषाध्यक्षमा निर्वाचित राजेन्द्र ओझाले सम्पूर्ण उद्योगी व्यवसायीको साथ र सद्भावले आफू निर्वाचित भएको बताउँदै आगामी दिनमा सबैको भावना र मर्मअनुसार काम गर्ने प्रतिबद्धता जनाए ।

त्यसैगरी नेपाल उद्योग वाणिज्य संघको कार्यकारिणी सदस्यमा निर्वाचित छत्रधर आत्रेयले संघको भूमिकाले आफ्नो विजयमा महत्वपूर्ण योगदान गरेको उल्लेख गर्दै व्यवसायीहरूको एकता नै आफ्नो शक्ति भएको बताए ।

उनले संघले गरेको सम्मानले थप ऊर्जा मिलेको र आगामी दिनमा संघको गरिमा बढ्ने कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रम संघकी अध्यक्ष जानुका पराजुली अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो । सञ्चालन महासचिव भरतराज ओझाले गरेका थिए भने धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष गोपीचन्द्र बास्तोलाले गरेका थिए ।

Copyright © 2024 | All rights reserved.