बैशाख २८, २०८३, सोमबार

पोखरामा ग्याङफाइटमा संलग्न एक युवतीसहित ६ जना पक्राउ


Advertisement Image
clock icon 1 hour, 42 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरामा सार्वजनिक भएको ग्याङ फाइटको भिडियोले पछिल्ला दिनमा युवापुस्तामा बढ्दो हिंसात्मक प्रवृत्ति र लागुऔषधको प्रभावबारे गम्भीर प्रश्न उठाएको छ ।

सामाजिक सञ्जालमा भाइरल भएको भिडियोको अनुसन्धानपछि प्रहरीले एक युवतीसहित ६ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा बाँझपाटनका २७ वर्षीय सुजन आले मगर, २३ वर्षीय राजेश परियार, गोरखा घर भइ बाँझपाटन बस्ने ३० वर्षीय दीपेश भनिने दिलेराम गुरुङ, नुवाकोट घर भइ बाग्लुङ बसपार्क बस्ने १८ वर्षीय सुजन तामाङ, २५ वर्षीय राजकुमार तामाङ तथा २० वर्षीया लिजा पुन छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार वैशाख २२ गते राति पोखराको बाग्लुङ बसपार्क क्षेत्रमा भएको समूहगत झडपमा उनीहरू संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय बगरबाट खटिएको टोलीले उनीहरूलाई विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो ।

कास्की प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेतले झैँझगडाको मुख्य कारण लागुऔषध रहेको बताएका छन् ।

प्रहरीको यो निष्कर्षले पोखरालगायत शहरी क्षेत्रमा लागुऔषध दुर्ब्यसन युवामाझ कति गहिरोसँग फैलिरहेको छ भन्ने संकेत गर्छ ।

पछिल्ला वर्षहरूमा पोखरामा समूह बनाएर हिँड्ने, सामाजिक सञ्जालमा शक्ति प्रदर्शन गर्ने र सामान्य विवादलाई हिंसात्मक रूप दिने प्रवृत्ति बढ्दो देखिन्छ ।

टिकटक, फेसबुक र रिल्समार्फत ‘ग्याङ संस्कृति’ लाई आकर्षक शैलीमा प्रस्तुत गर्ने अभ्यासले कतिपय युवालाई गलत बाटोतर्फ धकेलिरहेको सरोकारवालाहरू बताउँछन् ।

विशेषगरी बेरोजगारी, पारिवारिक निगरानीको कमी, अस्वस्थ साथीको संगत र लागुऔषधको पहुँचले युवाहरू हिंसात्मक गतिविधितर्फ आकर्षित हुने गरेको देखिन्छ । सामान्य विवाद पनि समूहगत झडपमा बदलिनु समाजका लागि चिन्ताजनक संकेत हो ।

प्रहरीले घटनामा संलग्नहरूलाई पक्राउ गरे पनि केवल पक्राउ र कारबाहीले मात्र समस्या समाधान नहुने देखिन्छ।

लागुऔषध नियन्त्रण, युवामाझ सचेतना, अभिभावकीय निगरानी र समुदायस्तरमा परामर्श कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यक देखिएको छ ।

पोखरामा भएको यो घटना केवल एउटा समूहगत झडप मात्र नभई समाजमा विस्तार हुँदै गएको विकृत संस्कृतिको संकेतका रूपमा समेत हेरिएको छ ।

Copyright © 2024 | All rights reserved.