0
प्रतिक्रिया
पोखरा । पोखरा-१९ घार्मीस्थित महेन्द्र माध्यमिक विद्यालयले विभिन्न कार्यक्रम आयोजना गरी ३६औँ वार्षिकोत्सव मनाएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै पोखरा-१९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण बढाउन स्थानीय अभिभावकको भूमिका महत्वपूर्ण हुने बताए । उनले आफ्ना बालबच्चालाई सामुदायिक विद्यालयमै भर्ना गरेर विद्यालयलाई सहयोग गर्न आग्रह गरे।
वडाध्यक्ष पाण्डेले विद्यालयको चौतर्फी विकासका लागि स्थानीय सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै गुणस्तरीय शिक्षा र विद्यार्थी आकर्षणका योजना अघि सार्न सुझाव दिए ।
पूर्व वडाध्यक्ष शोभामोहन पौडेलले शिक्षामा गुणस्तर अभिवृद्धिका लागि शैक्षिक गतिविधिमात्र नभई जीवनोपयोगी अतिरिक्त क्रियाकलाप पनि आवश्यक पर्ने बताए ।
वार्षिकोत्सवका अवसरमा वर्ष उत्कृष्ट शिक्षकका रूपमा भेषबहादुर भुजेल तथा उत्कृष्ट अभिभावकका रूपमा गंगा सुनार र सिङ्गराज तामाङ सम्मानित भए ।
उनीहरूलाई वडाध्यक्ष पाण्डे, पूर्व वडाध्यक्ष पौडेल तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखनाथ लामिछानेले मायाको चिनो, सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।
त्यसैगरी गत शैक्षिक सत्रमा उत्कृष्ट हुने विद्यार्थीलाई शैक्षिक, खेलकुद तथा अतिरिक्त क्रियाकलापतर्फ पुरस्कार प्रदान गरिएको छ भने छात्रवृत्ति पनि वितरण गरिएको विद्यालयले जनाएको छ ।
विद्यालयद्वारा स्थापित विभिन्न अक्षयकोषका लागि रामचन्द्र सुनार, तोकमाया पौडेल, बासुदेव पौडेल, सरस्वती भण्डारी, भीमबहादुर सुनार, पण्डित ऋषिराम पौडेल र तुलसी पौडेलले आर्थिक सहयोग हस्तान्तरण गरे ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष लेखनाथ लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा निमित्त प्रधानाध्यापक बासुदेव पौडेल, व्यवस्थापन समिति सदस्य मनबहादुर सुनार, पण्डित ऋषिराम पौडेल, सरस्वती भण्डारी, शिक्षिका रत्नाकुमारी विश्वकर्मा तथा विद्यार्थी सुदीप पौडेललगायतले विद्यालयका गतिविधिबारे चर्चा गरेका थिए ।
कार्यक्रममा अध्यक्ष लामिछानेले वार्षिकोत्सवमा हुने खर्च कटौती गरी व्यवस्थापकीय पक्षमा खर्च गरिने बताएका छन् ।
निमित्त प्रधानाध्यापक नन्दराज दाहालले वार्षिक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा लेखा सहायक रमेश आचार्यले आर्थिक प्रतिवेदन पेश गरेका थिए । मौलिक लोकभजनसहित सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षक शरदराज सापकोटाले गरेका थिए ।
Copyright © 2024 | All rights reserved.