0
प्रतिक्रिया
काठमाडौँ । टर्किस एयरलाइन्सको इस्तानबुल–काठमाडौं उडान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा आगलागी भएपछि विमानस्थल करिब दुई घण्टासम्म अवरुद्ध भएको छ । घटनापछि आपत्कालीन उद्धार र सुरक्षा जाँच सम्पन्न भएसँगै विमानस्थल पुनः सञ्चालनमा आएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अनुसार आज बिहान करिब पौने ७ बजे आएको फ्लाइट नम्बर टीके ७२६ अवतरण गर्ने क्रममा विमानको चक्कामा आगो देखिएको थियो । आगो देखिएलगत्तै विमान धावनमार्गमै रोकिएको थियो ।
विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार टायरमा आगो देखिएपछि तत्काल दमकल परिचालन गरी आगो नियन्त्रणमा लिइएको हो । घटनापछि सुरक्षाका कारण धावनमार्ग (रनवे) केही समयका लागि बन्द गरिएको थियो ।
विमानमा चार बालबालिकासहित २७७ यात्रु र ११ जना चालक दलका सदस्य सवार रहेका थिए । आगलागीपछि सबै यात्रु तथा चालक दलका सदस्यलाई इमर्जेन्सी ढोका प्रयोग गरी सकुशल बाहिर निकालिएको क्यानले जनाएको छ ।
विमान ट्याक्सी वेमै रोकिएको अवस्थामा रहेकाले आवश्यक प्राविधिक जाँचपछि त्यसलाई पार्किङ वेमा सारिएको थियो । त्यसपछि विमानस्थल सुरक्षित ठहर गर्दै करिब दुई घण्टापछि पुनः उडान तथा अवतरणका लागि खुला गरिएको हो ।
विमानस्थल बन्द हुँदा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानहरू केही समय प्रभावित भएका थिए । विशेषगरी नियमित तालिकामा रहेका अन्तर्राष्ट्रिय उडानहरू अवरुद्ध बनेका थिए ।
विमानस्थलको आपत्कालीन उद्धार टोली, दमकल सेवा र सुरक्षा निकायको समन्वय र सक्रियताका कारण ठूलो दुर्घटना टरेको बताइएको छ ।
Copyright © 2024 | All rights reserved.