0
प्रतिक्रिया
पोखरा । पोखरास्थित मदरल्याण्ड माविले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ मा ऐतिहासिक सफलता हासिल गरेको छ । विद्यालयका १२ जना विद्यार्थीले उच्चतम ४.०० जीपीए प्राप्त गर्दै नयाँ कीर्तिमान कायम गरेका हुन् । विद्यालयको इतिहासमै सबैभन्दा धेरै विद्यार्थीले ४.०० जीपीए ल्याएको यो पहिलो अवसर हो ।
यसअघि विद्यालयबाट विसं २०८१ मा ११ जना र २०८० मा १० जनाले ४.०० जीपीए प्राप्त गरेका थिए । यस वर्षको नतिजाले विद्यालयको पुरानो रेकर्ड तोडेको छ ।
विद्यालयबाट यस वर्ष कुल १६३ विद्यार्थी एसइई परीक्षामा सहभागी भएका थिए । तीमध्ये १२४ जनाले ३.६० देखि ४.०० जीपीए प्राप्त गरेका छन् भने ३० जनाले ३.२० देखि ३.६० जीपीए ल्याएका छन् । बाँकी ९ विद्यार्थीले ३.०३ देखि ३.२० जीपीए हासिल गरेको विद्यालयका संस्थापक प्रिन्सिपल डा. नारायण बराल ले जानकारी दिए ।
४.०० जीपीए प्राप्त गर्ने विद्यार्थीमा आयुषा अधिकारी, आयुषा पोखरेल, आयुष्मा थापा, अंकिता तिमिल्सिना, अनुष्ठान रेग्मी, दिप्सन कँडेल, दीक्षा सुवेदी, नम्रता ढकाल, साइमन अधिकारी, समीप सुवेदी, सार्थक अधिकारी र सूर्यांश केसी रहेका छन् । तीमध्ये ७ जना छात्रा र ५ जना छात्र हुन् ।
विद्यालयले काठमाडौँ बाहिर रहेर पनि गुणस्तरीय शिक्षामा आफूलाई अग्रणी संस्थाका रूपमा स्थापित गर्दै आएको छ । नेपाल सरकार का विभिन्न निकायबाट विद्यालयले पटक–पटक ‘बेस्ट स्कुल अवार्ड’ समेत प्राप्त गरेको छ ।
गत वर्ष कक्षा १२ को नतिजामा पनि विद्यालयले उल्लेखनीय सफलता हासिल गरेको थियो । त्यतिबेला १२ विद्यार्थीले ३.९६ जीपीए ल्याएका थिए । विद्यालयले पटक–पटक ‘नेपाल टप’ गर्ने गौरवसमेत हासिल गर्दै आएको छ ।
विसं २०८० को कक्षा १२ को नतिजामा जीवन अधिकारी, कृतिका थापा र राजेश पौडेलले नेपाल टप गरेका थिए भने विसं २०८१ मा सदिक्ष्या क्षेत्रीले पनि उक्त सफलता दोहोर्याएकी थिइन् ।
ऐतिहासिक सफलतापछि प्रिन्सिपल डा. नारायण बरालले सम्पूर्ण विद्यार्थी, शिक्षक तथा अभिभावकलाई बधाई दिँदै विद्यालयको उपलब्धि सामूहिक मेहनत र अनुशासनको परिणाम भएको बताएका छन् । उनले विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै आगामी दिनमा अझ उत्कृष्ट नतिजा ल्याउने विश्वास व्यक्त गरेका छन् ।
Copyright © 2024 | All rights reserved.