0
प्रतिक्रिया
पोखरा। मुस्लिम धर्मावलम्बीहरूको दोस्रो महान् पर्व बकर इद आज देशभर श्रद्धा र उल्लासका साथ मनाइँदै छ ।
पर्वका अवसरमा बिहानैदेखि देशभरका मस्जिद तथा इदगाहमा विशेष नमाज अदा गरिएको छ । नमाजपछि मुस्लिम समुदायले एकापसमा शुभकामना आदानप्रदान गरेका छन् ।
राजधानीको दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका मस्जिदमा बिहानैदेखि भक्तजनको भीड लागेको थियो । सरकारले बकर इदका अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।
धार्मिक मान्यताअनुसार अल्लाहको आदेश पालना गर्दै हजरत इब्राहिम आफ्ना छोरा इस्माइललाई कुर्बानी दिन तयार भएको सम्झनामा यो पर्व मनाइन्छ ।
मुस्लिम समुदायका अनुसार अन्तिम समयमा इस्माइलको सट्टा दुम्बाको कुर्बानी भएको थियो । त्यसैको सम्झनामा बकर इदमा कुर्बानी दिने परम्परा चल्दै आएको छ ।
बकर इदमा मुस्लिम धर्मावलम्बीले धार्मिक रूपमा मान्य जनावरको कुर्बानी दिने गर्छन् । कुर्बानी गरिएको मासु तीन भागमा बाँड्ने चलन छ ।
एक भाग गरिब तथा विपन्नलाई, अर्को आफन्त र इष्टमित्रलाई तथा बाँकी भाग आफ्ना परिवारका लागि राख्ने धार्मिक मान्यता छ ।
मुस्लिम धर्मावलम्बीहरूले आजदेखि लगातार तीन दिनसम्म बकर इद मनाउने जनाइएको छ । तीनै दिन कुर्बानी दिन मिल्ने धार्मिक व्यवस्था रहेको नेपाली जामे मस्जिदले जनाएको छ ।
Copyright © 2024 | All rights reserved.