असार २८, २०८३, आइतबार

पोखराको चाउथेमा मोटरसाइकलको ठक्करबाट कांग्रेस नेता रत्नबहादुर खत्रीको निधन


Advertisement Image
clock icon 1 hour, 23 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । कास्कीको पोखरा महानगरपालिका–१४ चाउथेमा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका नेपाली कांग्रेस पोखरा महानगरपालिका–२६ का कार्यसमिति सदस्य तथा समाजसेवी ७६ वर्षीय रत्नबहादुर खत्रीको उपचारका क्रममा निधन भएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार शुक्रबार राति करिब ९ बजे विजयपुरबाट पोखरातर्फ आउँदै गरेको ग १४ प २४ नम्बरको बुलेट मोटरसाइकलले बाटो काट्दै गरेका पोखरा-२६ लेखनाथ निवासी खत्रीलाई ठक्कर दिएको थियो।

दुर्घटनापछि गम्भीर घाइते भएका उनलाई प्रारम्भिक उपचारका लागि अन्नपूर्ण अस्पताल, शिवचोक लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि गण्डकी अस्पताल (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) रिफर गरिएकोमा उपचारकै क्रममा शनिबार बिहान १:५० बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।

दुर्घटनापछि फरार रहेका मोटरसाइकल चालक पोखरा-१० मिलनटोल निवासी १९ वर्षीय अंकुश गुरुङलाई शनिबार बिहान ६:१५ बजे वडा प्रहरी कार्यालय रामबजारको टोलीले पक्राउ गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसैबीच खत्रीको निधनप्रति नेपाली कांग्रेस पोखरा-२६ ले गहिरो दुःख व्यक्त गर्दै शोक वक्तव्य जारी गरेको छ।

वक्तव्यमा खत्री पार्टीका सक्रिय कार्यकर्ता मात्र नभई समाजसेवामा समर्पित व्यक्तित्व रहेको उल्लेख गर्दै उनको योगदानको उच्च सम्मान गरिएको छ। साथै, उनको आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ।

कांग्रेसले यस दुःखद घडीमा शोकसन्तप्त परिवार, आफन्त, इष्टमित्र तथा शुभेच्छुकप्रति गहिरो समवेदना व्यक्त गर्दै धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गरेको छ।

रत्नबहादुर खत्रीको असामयिक निधनले नेपाली कांग्रेसका नेता–कार्यकर्ता, स्थानीयवासी तथा सामाजिक क्षेत्रलाई स्तब्ध बनाएको छ। खत्रीको निधनलाई पोखरा–२६ ले एक अनुभवी, सहयोगी र सामाजिक व्यक्तित्वको अपूरणीय क्षतिका रूपमा लिएको छ।

Copyright © 2024 | All rights reserved.