असार २७, २०८३, शनिबार

सल्यानी समिति कास्कीको २०औँ खुला रक्तदान कार्यक्रममा ४१ युनिट रगत संकलन


Advertisement Image
clock icon 59 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । सल्यानी समिति कास्कीको आयोजनामा २०औँ खुला रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा ४१ युनिट रगत संकलन भएको समितिले जनाएको छ।

समितिका अनुसार यस वर्ष पहिलो पटक रक्तदान गर्ने युवाको सहभागिता उल्लेखनीय रहेको थियो। त्यस्तै ५० पटकभन्दा बढी रक्तदान गरिसकेका नियमित रक्तदाताको समेत उत्साहजनक सहभागिता देखिएको थियो।

कार्यक्रममा प्रमुख अतिथि अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले रक्तदान मानव जीवन बचाउने सबैभन्दा ठूलो सामाजिक सेवा भएको बताउँदै स्वस्थ व्यक्तिले नियमित रूपमा रक्तदान गर्नुपर्नेमा जोड दिए।

उनले रगतको अभावका कारण कुनै पनि बिरामी उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले यस्ता कार्यक्रमको निरन्तरता आवश्यक रहेको उल्लेख गर्दै सल्यानी समिति कास्कीले समाजसेवाका क्षेत्रमा पुर्‍याउँदै आएको योगदानको प्रशंसा गरे।

आगामी दिनमा पनि यस्ता मानवीय अभियानमा गाउँपालिकाको सहयोग रहने प्रतिबद्धता उनले व्यक्त गरे।

सल्यानी समिति कास्कीका संस्थापक अध्यक्ष दण्डराज शर्माले दुई दशकदेखि निरन्तर रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएको समितिले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए।

रक्तदानबाट धेरै बिरामीको जीवन बचाउन सकिने भएकाले स्वस्थ नागरिकलाई नियमित रक्तदान गर्न उनले आग्रह गरे। आगामी दिनमा पनि यस्ता मानवीय अभियानलाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता उनले व्यक्त गरे।

समितिका निवर्तमान अध्यक्ष एवं भूमेश्वर बचत तथा ॠण सहकारी संस्थाका अध्यक्ष शुक्रराज पौडेलले सल्यानी समितिको स्थापना हुनुको मूल उद्देश्य र महान सोचका साथ स्थापना गर्नुहुने अग्रजहरूको सम्झना गरे। उनले कास्कीमा खुलेका अधिकांश समाजहरू सल्यानी समितिको सिको गरेर खुलेको र यसको श्रेय सल्यानीहरूले पाएको जानकारी गराए।

कार्यक्रममा पौडेलले ५३औँ पटक रक्तदान गरेका थिए ।

समितिका अध्यक्ष विष्णु थापा केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव राजेन्द्र पौडेलले गरेका थिए भने स्वागत मन्तव्य देवीप्रसाद पौडेलले व्यक्त गरेका थिए। कार्यक्रम संयोजकको जिम्मेवारी हर्कबहादुर सुनारले निर्वाह गरेका थिए।

कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण रक्तदाता, सहयोगदाता तथा सहभागीप्रति आभार व्यक्त गर्दै समितिले आगामी दिनमा पनि यस्तै मानवीय अभियानमा सबैको निरन्तर साथ र सहयोगको अपेक्षा गरेको छ। साथै अन्नपूर्ण गाउँपालिका, भूमेश्वर बचत तथा ऋण सहकारी संस्था, झोवाङ पोखरा सम्पर्क समाजलगायत सहयोगी संस्था तथा व्यक्तिहरूप्रति विशेष धन्यवाद ज्ञापन गरिएको छ।

कार्यक्रममा विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधि, रक्तदाता, समाजसेवी र स्थानीयवासीको उल्लेखनीय उपस्थिति रहेको थियो।

Copyright © 2024 | All rights reserved.