0
प्रतिक्रिया
पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरामा बिहीबार बिहानैदेखि वर्षा भइरहेको छ। पोखरामा गएराति पनि वर्षा भएको थियो ।
साथै देशभर अहिले पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भूभाग नजिक सक्रिय न्यूनचापीय प्रणालीको संयुक्त प्रभाव देखिएको छ ।
यही मौसमी प्रणालीका कारण आज देशका अधिकांश क्षेत्रमा बदली, वर्षा, चट्याङ र हावाहुरीको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशसहित पहाडी तथा हिमाली भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ । तराई क्षेत्रमा भने आंशिक बदलीको अवस्था रहने जनाइएको छ ।
कोशी प्रदेश, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली जिल्लाका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली क्षेत्रमा हल्का हिमपातसमेत हुन सक्ने अनुमान गरिएको छ ।
त्यस्तै मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा पनि केही स्थानमा वर्षा हुने सम्भावना छ । बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा समेत चट्याङसहित पानी पर्ने अनुमान गरिएको छ ।
मौसमविद्ले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा भने अत्यधिक गर्मी रहने चेतावनी दिएका छन् । ती क्षेत्रमा ‘तातो दिन’ को अवस्था रहने भएकाले आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ ।
रातिको समयमा पनि देशभर बदली कायमै रहनेछ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा कोशी, मधेस, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको छ ।
यसैबीच राति सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका तराई तथा पहाडी क्षेत्रमा तीव्र हावाहुरी चल्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हावाहुरी, चट्याङ र वर्षाका कारण दैनिक जनजीवन, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।
Copyright © 2024 | All rights reserved.