0
प्रतिक्रिया
पोखरा। पोखरा महानगरपालिकाले महानगर क्षेत्रभित्र रहेका छाडा तथा उद्धार गरिएका कुकुरहरूको व्यवस्थित संरक्षण र व्यवस्थापनका लागि लागत साझेदारीमा डग होस्टेल सञ्चालन गर्न इच्छुक संस्था तथा निकायसँग प्रस्ताव आह्वान गरेको छ।
महानगरको आर्थिक विकास महाशाखाअन्तर्गत पशु सेवा शाखाले सार्वजनिक सूचना जारी गर्दै पशु कल्याण तथा जनस्वास्थ्यलाई मध्यनजर गर्दै डग होस्टेल सञ्चालन कार्यक्रम अघि बढाउन लागिएको जनाएको हो। कार्यक्रममार्फत छाडा तथा उद्धार गरिएका कुकुरहरूको सुरक्षित आवास, उपचार, खोप तथा दीर्घकालीन पुनस्र्थापनामा जोड दिइनेछ।
सूचनाअनुसार पशु कल्याण, पशु सेवा वा सम्बन्धित क्षेत्रमा दर्ता भई कम्तीमा दुई वर्षदेखि कार्यरत सङ्घसंस्था, गैरसरकारी संस्था तथा अन्य सम्बन्धित निकायहरूले प्रस्ताव पेस गर्न सक्नेछन्। समान प्रकृतिका परियोजना सञ्चालन गरेको अनुभव भएका संस्थालाई प्राथमिकता दिइने जनाइएको छ।
कार्यक्रम पोखरा महानगरपालिका र छनोट हुने संस्थाबीच लागत साझेदारीमा सञ्चालन हुनेछ। आवश्यक पूर्वाधार, जनशक्ति तथा सञ्चालन व्यवस्थापनको जिम्मेवारी प्रस्तावअनुसार तय गरिनेछ।
प्रस्ताव पेस गर्दा संस्थाको दर्ता तथा नवीकरण प्रमाणपत्र, प्यान वा भ्याट प्रमाणपत्र, संस्थागत विवरण, पशु कल्याणसम्बन्धी कार्य अनुभव र प्रस्तावित कार्यक्रमको विस्तृत अवधारणापत्र संलग्न गर्नुपर्ने व्यवस्था गरिएको छ।
महानगरपालिकाले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र कार्यालय समयभित्र पशु सेवा शाखामा प्रस्ताव पेस गर्न आह्वान गरेको छ।
महानगरले मानवीय र दिगो छाडा कुकुर व्यवस्थापन प्रणाली विकास गर्दै पशु कल्याण र सार्वजनिक स्वास्थ्य संरक्षणलाई थप प्रभावकारी बनाउने लक्ष्यका साथ यो कार्यक्रम अघि सारेको जनाएको छ।
Copyright © 2024 | All rights reserved.