0
प्रतिक्रिया
पोखरा। “नेपालीहरू पनि पर्यटक हुन्” भन्ने सोच र संस्कृतिको विकास गर्ने उद्देश्यले शुरू गरिएको ‘जाऔँ है पोखरा’ अभियान यस वर्ष सम्पन्न भएको छ। होटल संघ पोखरा नेपालले आयोजना गरेको तीन दिने प्रवर्द्धनात्मक यात्रा सौराहा, भैरहवा र पाल्पा हुँदै टुंगिएको हो।
अभियानका क्रममा सौराहा, भैरहवा र पाल्पामा पर्यटन व्यवसायी, स्थानीय तहका जनप्रतिनिधि तथा सरोकारवालासँग पर्यटन प्रवद्र्धन, सहकार्य र गन्तव्य विकासबारे अन्तरक्रिया तथा छलफल गरिएको थियो।
भैरहवामा आयोजित कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानले पर्यटन प्रवर्द्धनका लागि सकारात्मक सन्देश फैलाउनुपर्नेमा जोड दिए। उनले पोखरा जस्तै भैरहवाले पनि पर्यटन विकासका कार्यक्रमलाई अघि बढाउनुपर्ने धारणा राखे।
होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले अभियान शुरू हुनुअघि पोखरामा आन्तरिक पर्यटकको हिस्सा ३ प्रतिशत मात्र रहेको उल्लेख गर्दै अहिले त्यो बढेर ५० प्रतिशत पुगेको दाबी गरे। उनले “नेपाली पनि पर्यटक हुन्” भन्ने अवधारणा अभियानबाट स्थापित भएको बताए।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछानेले पोखरा, चितवन र लुम्बिनीलाई जोडेर त्रिकोणात्मक पर्यटन प्रवर्द्धन गर्ने योजना रहेको बताए।
होटल संघ नेपालका केन्द्रीय सदस्य चन्द्रप्रकाश श्रेष्ठले भारतीय पर्यटकले सीमा क्षेत्रमा भोग्नुपरेका समस्या समाधान गर्नुपर्ने धारणा राखे।
भैरहवामा सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष विष्णु शर्मा, सिद्धार्थ सञ्जाल रुपन्देहीका अध्यक्ष अनिल ज्ञवाली, लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझी, नाट्टा लुम्बिनीका अध्यक्ष चन्द्रबहादुर थापा, होटल तथा रेष्टुरेन्ट एशोसिएसन रुपन्देहीका अध्यक्ष राजेश महोत्त्रा र नेपालऔभारत मैत्री संघ रुपन्देहीका अध्यक्ष श्रीचन्द्र गुप्ताले पनि पर्यटन सहकार्यको आवश्यकता औँल्याएका थिए।
पाल्पाको तानसेनमा आयोजित कार्यक्रममा नगर प्रमुख सन्तोषलाल श्रेष्ठले पाल्पा सुन्दर गन्तव्य भए पनि प्रचारमा पछि परेको स्वीकार गरे।
होटल संघ पाल्पाका अध्यक्ष जयन्त भुसालले पाल्पा ट्रान्जिट मात्र नभई आफैँमा प्रमुख गन्तव्य भएको दाबी गरे।
ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले पोखरा साहसिक पर्यटनको प्रवेशद्वार भएको उल्लेख गर्दै पाल्पा जस्ता ऐतिहासिक गन्तव्यको प्रवर्द्धनमा ध्यान दिनुपर्ने बताए।
कार्यक्रममा पाल्पा उद्योग वाणिज्य संघ, पाल्पा व्यापार संघ र नाट्टा पाल्पाका प्रतिनिधिहरूले पर्यटन प्रवर्द्धनका विविध उपायबारे धारणा राखेका थिए। कार्यक्रमको सञ्चालन होटल संघ पोखराकी सचिव पार्वती पाण्डेले गरेकी थिइन्।
Copyright © 2024 | All rights reserved.