असार ११, २०८३, बिहीबार

शिक्षा र वातावरणलाई जोड्दै बाबा फाउण्डेशनद्वारा ३५० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण


Advertisement Image
clock icon 2 hours, 23 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा। बालबालिकाको शिक्षा र वातावरण संरक्षणलाई सँगसँगै अघि बढाउँदै आएको बाबा फाउण्डेशन नेपालले पोखरा महानगरपालिका-४ गैह्रापाटनस्थित नवीन माध्यमिक विद्यालयका करिब ३५० विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेको छ।

फाउण्डेशनले कापी, कलम, पेन्सिल, इरेजर, डस्टविन, जालीसहितको भलिबल तथा फुटबल वितरण गर्दै विद्यार्थीलाई अध्ययनसँगै सरसफाइ र वातावरण संरक्षणप्रति सचेत बन्न आग्रह गरेको हो।

कार्यक्रममा फाउण्डेशनका अध्यक्ष दिलिपराज श्रेष्ठले संस्थाले विगत दुई दशकदेखि बालबालिका र वातावरणका क्षेत्रमा निरन्तर काम गर्दै आएको बताउँदै ‘स्वच्छ हराभरा पोखरा अभियान’ मार्फत पोखरालाई सफा, हरियाली र वातावरणमैत्री सहरका रूपमा विकास गर्ने लक्ष्य लिएको जानकारी दिए।

उनले पर्यटनको राजधानीका रूपमा परिचित पोखराको दीगो विकासका लागि स्वच्छ वातावरण अपरिहार्य रहेको उल्लेख गर्दै नयाँ पुस्तामा वातावरणीय चेतना विकास गर्न विद्यालय केन्द्रित कार्यक्रम सञ्चालन गरिरहेको बताए।

“बालबालिकामा आजदेखि वातावरण संरक्षणको संस्कार विकास गर्न सकियो भने भविष्यमा पोखरा अझ सुन्दर र व्यवस्थित बन्न सक्छ,” उनले भने।

पोखरा-४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले सामुदायिक विद्यालयका विद्यार्थीलाई लक्षित गरी गरिएको सहयोगले शैक्षिक वातावरण सुधार्न मद्दत पुग्ने विश्वास व्यक्त गर्दै सामाजिक उत्तरदायित्व निर्वाहमा बाबा फाउण्डेशनले उदाहरणीय भूमिका खेलेको बताए।

उनले यस्ता सामाजिक संस्थाको सहकार्यले विद्यालयको शैक्षिक वातावरण सुधार्न र विद्यार्थीमा सकारात्मक ऊर्जा थप्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

विद्यालयका प्रधानाध्यापक शिरोमणि लामिछानेले विद्यालयका विद्यार्थीलाई आवश्यक शैक्षिक तथा खेलकुद सामग्री उपलब्ध गराएकोमा फाउण्डेशनप्रति आभार व्यक्त गर्दै यस्ता सहयोगले विद्यार्थीको मनोबल बढ्नुका साथै सिकाइ प्रक्रियामा सकारात्मक प्रभाव पर्ने बताए।

कार्यक्रममा फाउण्डेशनका उपाध्यक्ष कमल पौडेल ‘अथक’, कोषाध्यक्ष दीपक अधिकारी, सदस्य श्रीराम घिमिरे, भूपेन्द्र गिरीलगायतले बोलेका थिए ।

पोखरामा स्थापित बाबा फाउण्डेशन नेपाल गैरसरकारी तथा गैरनाफामूलक संस्था हो।

संस्थाले बालबालिकाको गुणस्तरीय शिक्षामा पहुँच विस्तार, बालअधिकार प्रवर्द्धन, शैक्षिक सामग्री वितरण तथा वातावरण संरक्षणका कार्यक्रम सञ्चालन गर्दै आएको छ।

संस्थाको ‘स्वच्छ हराभरा पोखरा अभियान’ पोखरालाई सफा, हरियाली र वातावरणमैत्री सहर बनाउने उद्देश्यसहित सञ्चालन भइरहेको छ।

Copyright © 2024 | All rights reserved.