0
प्रतिक्रिया
पोखरा । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट र बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा बीच बिहीबार पोखरास्थित प्रदेश प्रमुख निवासमा भेटवार्ता भएको छ।
अन्तरप्रदेश भ्रमणका क्रममा गण्डकी आएका बागमती प्रदेश प्रमुख देवकोटा र उनकी धर्मपत्नीलाई गण्डकी प्रदेश प्रमुख भट्टले निवासमा स्वागत गरेका थिए ।
भेटका क्रममा मुलुकको राजधानी रहेको बागमती प्रदेश र पर्यटकीय राजधानी पोखरा रहेको गण्डकी प्रदेशबीच सम्बन्धलाई अझ प्रगाढ बनाउँदै सहयोग र सहकार्य विस्तार गर्नुपर्नेमा दुवै प्रदेश प्रमुखले जोड दिएका छन्।
छलफलमा प्रदेश प्रमुखद्वयले आ–आफ्नो प्रदेशको अवस्था, विकासका गतिविधि तथा प्रशासनिक अनुभवबारे विचार आदानप्रदान गरेका थिए ।
प्रदेश–प्रदेशबीच भएका सफल अभ्यासहरूको अनुसरण गर्ने, प्रदेश प्रमुख कार्यालयका कार्यसम्पादन र अनुभवहरू साटासाट गर्ने विषयमा समेत कुराकानी भएको गण्डकी प्रदेश प्रमुख सचिवालयले जनाएको छ।
उनीहरूले प्रदेश संस्थाहरूको संस्थागत विकास र मर्यादा अभिवृद्धिका लागि संविधानको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको उल्लेख गरे ।
कार्यक्रममा गण्डकी प्रदेश प्रमुख कार्यालयका सचिव विजय राना, प्रमुख स्वकीय सचिव रञ्जन अधिकारी, उपसचिवद्वय रामेश्वर अर्याल र प्रविण पौडेल, लेखा अधिकृत युवराज पौडेल तथा बागमती प्रदेश प्रमुख कार्यालयका स्वकीय सचिव थानेश्वर न्यौपानेलगायतको उपस्थिति रहेको थियो।
सो अवसरमा बागमती प्रदेश प्रमुख देवकोटाले गण्डकी प्रदेश प्रमुख भट्टलाई बागमती प्रदेश भ्रमणको निमन्त्रणा दिएका थिए ।
Copyright © 2024 | All rights reserved.