0
प्रतिक्रिया
पोखरा । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले इजरायल भ्रमणबाट प्रविधि, स्मार्ट सिटी व्यवस्थापन, कृषि आधुनिकीकरण र स्थानीय सरकार सञ्चालनसम्बन्धी महत्त्वपूर्ण अनुभव तथा सिकाइ हासिल भएको बताएका छन्।
भ्रमण अनुभव सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गर्दै मेयर आचार्यले तेल अभिभ र जेरुसेलममा आयोजित ग्लोबल म्युनिसिपल एक्स्पोमा सहभागी भएर स्वदेश फर्किएको जानकारी दिएका हुन्।
उनका अनुसार नेपालबाट पोखरा महानगरपालिका, काठमाडौँ महानगरपालिका र जनकपुर उपमहानगरपालिकाले विशेष निमन्त्रणामा उक्त कार्यक्रममा सहभागिता जनाएका थिए।
मेयर आचार्यका अनुसार एक्स्पोको विशेष समारोहलाई इजरायलका राष्ट्रपति आइज्याक हर्जोग र प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले सम्बोधन गरेका थिए।
सोही अवसरमा नेपाली प्रतिनिधिमण्डलले राष्ट्रपति हर्जोगसँग प्रत्यक्ष भेटघाट तथा संवाद गर्ने अवसर समेत प्राप्त गरेको उनले उल्लेख गरे।
उनले तेल अभिभका मेयर रोन हुल्डाई, जेरुसेलमका मेयर मोशे लियोन तथा विभिन्न देशका नगरप्रमुखहरूसँग स्थानीय सरकार सञ्चालन, आधुनिक सहरी विकास, नवीन प्रविधि र द्विपक्षीय सहकार्यका विषयमा फलदायी छलफल भएको बताए।
फेसबुक स्टाटसमा मेयर आचार्यले इजरायलको उच्च प्रविधि, कृषि आधुनिकीकरण र नवप्रवर्तन (इनोभेसन) नेपालका स्थानीय तहका लागि अनुकरणीय रहेको उल्लेख गरे।
सञ्चारमाध्यममा आउने समाचारका कारण आफूहरूमा रहेको सुरक्षा सम्बन्धी आशंका त्यहाँ पुगेपछि गलत सावित भएको भन्दै स्थानीय नागरिकमा उत्साह, देशप्रतिको भरोसा र सामान्य जनजीवन देखिएको अनुभव पनि उनले साझा गरेका छन्।
भ्रमण सफल बनाउन सहयोग गर्ने ग्लोबल म्युनिसिपल एक्स्पो आयोजक समिति, इजरायलस्थित नेपाली दूतावास तथा नेपालस्थित इजरायली दूतावासप्रति उनले आभार व्यक्त गरे।
मेयर आचार्यले भ्रमणका क्रममा गत वर्ष इजरायलमा भएको हमलामा ज्यान गुमाएका नेपाली विद्यार्थी विघान जोशीको कार्यस्थल पुगेर श्रद्धाञ्जली अर्पण गरेको पनि उल्लेख गरे। उक्त क्षणले भ्रमणलाई भावनात्मक रूपमा पनि गहिरो बनाएको भन्दै दिवंगत जोशीप्रति श्रद्धाञ्जली व्यक्त गरे।
मेयर आचार्यले यस भ्रमणबाट प्राप्त अनुभवले नेपाली स्थानीय तहलाई प्रविधिमैत्री, आधुनिक र समृद्ध बनाउने दिशामा नयाँ ऊर्जा र दृष्टिकोण प्रदान गर्ने विश्वास व्यक्त गरे।
यस्तो छ मेयर आचार्यको स्टाटस्
नयाँ अनुभव, महत्त्वपूर्ण सिकाई र अविस्मरणीय यात्रा: इजरायल
इजरायलको तेल अभिभ र जेरुसेलम सहरमा आयोजना भएको ग्लोबल म्युनिसिपल एक्स्पो (Global Municipal Expo) का विभिन्न महत्त्वपूर्ण समारोह, इभेन्ट, स्थलगत अवलोकन तथा अनुभव आदानप्रदानका ३ दिनका कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गरी हामी सकुशल स्वदेश फर्किएका छौँ। यस गरिमामय एक्स्पोका लागि नेपालबाट पोखरा महानगरपालिका, काठमाडौँ महानगरपालिका र जनकपुर उप-महानगरपालिका ले विशेष निमन्त्रणा पाएर सहभागी हुने अवसर मिलेको थियो।
यस कार्यक्रमका क्रममा एक्स्पोको विशेष समारोहलाई इजरायलका महामहिम राष्ट्रपति आइज्याक हर्जोग (Isaac Herzog) र सम्माननिय प्रधानमन्त्री बेन्जामिन नेतान्याहु (Benjamin Netanyahu) दुवै जनाले सम्बोधन गर्नुभएको थियो। सोही ऐतिहासिक अवसरमा हामीले महामहिम राष्ट्रपति आइज्याक हर्जोग ज्यूसँग प्रत्यक्ष भेटघाट र संवाद गर्ने अमूल्य अवसर समेत प्राप्त गर्यौँ।
विशेष गरी आयोजक सहर तेल अभिभका मेयर रोन हुल्डाई (Ron Huldai), जेरुसेलमका मेयर मोशे लियोन (Moshe Lion) र एक्स्पोमा सहभागी अन्य विभिन्न देशका महत्त्वपूर्ण सहरका नगरप्रमुख (मेयर) हरूसँग स्थानीय सरकारको सञ्चालन, आधुनिक सहरी विकास, नवीन प्रविधि र दुईपक्षीय आपसी सहयोग आदानप्रदानका विषयमा फलदायी छलफल र विचार आदानप्रदान भयो।
मुख्य सिकाई र अनुभव:
इजरायलले विकास गरेको हाईटेक (High-tech) प्रविधि, कृषि क्षेत्रमा गरेको अद्भुत आधुनिकीकरण र हरेक क्षेत्रमा अपनायाएको इनोभेसन (Innovation) हाम्रा लागि अत्यन्तै महत्त्वपूर्ण र अनुकरणीय रहे। मिडियामा सुनिने खबरहरूका कारण "अत्यन्तै त्रासदीपूर्ण अवस्था पो छ कि?" भन्ने आशंका बोकेर गएका हामी त्यहाँ पुग्दा स्थानीय नागरिकहरूमा देखिएको उत्साह, खुसी, देशप्रतिको भरोसा र ढुक्कपन देख्दा साँच्चै छक्क पर्यौँ। प्रतिकूल परिस्थितिका बाबजुद पनि उनीहरूले प्रविधि र स्मार्ट सिटी व्यवस्थापनमा गरेको प्रगतिबाट हामीले धेरै कुरा सिक्ने मौका पाएका छौँ।
यो गरिमामय र उपलब्धिमूलक भ्रमणलाई व्यवस्थित बनाउन महत्त्वपूर्ण भूमिका खेल्नुहुने ग्लोबल म्युनिसिपल एक्स्पोको आयोजक कमिटी (Organizing Committee) प्रति हार्दिक आभार व्यक्त गर्दछौँ। साथै, भ्रमण अवधिभर उत्कृष्ट समन्वय, सहयोग र अभिभावकत्व प्रदान गर्नुहुने इजरायल स्थित नेपाली दूतावास (Embassy of Nepal, Israel) र यो अवसरको वातावरण मिलाउन सहयोग पुर्याउने नेपाल स्थित इजरायली दूतावास (Embassy of Israel, Nepal) प्रति हृदयदेखि नै विशेष धन्यवाद ज्ञापन गर्दछौँ।
एक दुःखद क्षण र भावपूर्ण श्रद्धाञ्जली:
यो भ्रमण सिकाइ र कूटनीतिक हिसाबले जति सफल रह्यो, भावनात्मक रूपमा त्यत्तिकै गह्रौँ पनि बन्यो। गत वर्षको दुःखद घटनामा हामीले गुमाएका प्रिय विपिन जोशी को कार्यस्थल/घटनास्थलमै पुगेर प्रत्यक्ष रूपमा उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दा मन निकै भावुक भयो। त्यो पीडालाई नजिकबाट महसुस गर्दै उहाँको दिव्य आत्माको चीर शान्तिको कामना गर्दछौँ।
यस एक्स्पोले हाम्रा स्थानीय पालिकाहरूलाई प्रविधिमैत्री, आधुनिक र समृद्ध बनाउन नयाँ ऊर्जा र दृष्टिकोण प्रदान गरेको छ। भ्रमणलाई सफल बनाउन सहयोग गर्नुहुने र शुभेच्छा प्रकट गर्नुहुने सम्पूर्णमा पुनः हार्दिक धन्यवाद!
Copyright © 2024 | All rights reserved.