0
प्रतिक्रिया
पोखरा । पोखरा महानगरपालिकाको १९औँ नगरसभा सम्पन्न भएको छ। नगरसभाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७ अर्ब १५ करोड २५ लाख रुपैयाँ बराबरको वार्षिक विकास कार्यक्रम (बजेट) तथा नीति एवं कार्यक्रम सर्वसम्मत रूपमा पारित गरेको छ।
बुधबार बसेको नगरसभाको बैठकले उपप्रमुख मञ्जुदेवी गुरुङले प्रस्तुत गरेका बजेट सर्वसम्मत रूपमा पारित गरेको हो। उनले असार ५ गते बसेको दोस्रो बैठकमा महानगरको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि ७ अर्ब १५ करोड २५ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका थिए।
पारित बजेटअनुसार संघीय सरकारको वित्तीय हस्तान्तरणबाट ३ अर्ब १८ करोड ६० लाख रुपैयाँ प्राप्त हुनेछ। यसमध्ये सशर्त अनुदान २ अर्ब ६१ करोड ९१ लाख, विशेष अनुदान ५ करोड ५० लाख, समपूरक अनुदान १ करोड ८२ लाख तथा समानीकरण अनुदान ४९ करोड ३७ लाख रुपैयाँ रहेको छ।
त्यस्तै, गण्डकी प्रदेश सरकारबाट समपूरक अनुदान ६० लाख, विशेष अनुदान ४० लाख र समानीकरण अनुदान ८ करोड १५ लाख ३६ हजार रुपैयाँ गरी कुल ९ करोड १५ लाख ३६ हजार रुपैयाँ प्राप्त हुनेछ।
राजस्व बाँडफाँडतर्फ संघीय सरकारबाट ३४ करोड ३४ लाख ७३ हजार, गण्डकी प्रदेश सरकारबाट ४ करोड ९ लाख ८६ हजार, स्थानीय राजस्व बाँडफाँडबाट १ अर्ब ३१ लाख १४ हजार तथा आन्तरिक स्रोतबाट २ अर्ब ४८ करोड ७३ लाख ९१ हजार रुपैयाँ जुटाइने लक्ष्य राखिएको छ। यससँगै महानगरको कुल आन्तरिक आय ३ अर्ब ८७ करोड ४९ लाख ६४ हजार रुपैयाँ रहनेछ।
कुल बजेटमध्ये ५५.१५ प्रतिशत चालु खर्च र ४४.८५ प्रतिशत पुँजीगत खर्चका लागि विनियोजन गरिएको छ।
बुधबार सम्पन्न नगरसभाले पोखरा महानगरपालिकाको आर्थिक विधेयक, २०८३, विनियोजन विधेयक, २०८३, न्यायिक समितिको वार्षिक प्रतिवेदन, सार्वजनिक लेखा समितिको प्रतिवेदन तथा कार्यपालिकाबाट सिफारिस भई आएका विभिन्न विधेयक, संशोधन विधेयक, मापदण्डलगायतका कानुन पनि पारित गरेको छ।
नगरसभा सफलतापूर्वक सम्पन्न गराउन सहयोग गर्ने नगरसभा सदस्य, कर्मचारी तथा सम्पूर्ण सरोकारवालाप्रति नगर प्रमुख धनराज आचार्यले आभार प्रकट गरेका छन्।
Copyright © 2024 | All rights reserved.