0
प्रतिक्रिया
पोखरा। गत वर्ष जेन्जी आन्दोलनका क्रममा आगजनी तथा तोडफोडबाट क्षतिग्रस्त भएको कास्कीको वडा प्रहरी कार्यालय गगनगौंडाको भवन स्थानीयवासीको सहयोगमा पुनर्निर्माण तथा मर्मतपछि बुधबार नेपाल प्रहरीलाई हस्तान्तरण गरिएको छ।
२०८२ भदौ २४ गतेको आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको भवन पोखरा महानगरपालिका-२८, २९ र ३० नम्बर वडाको पहलमा गठित पुनर्निर्माण समितिले पुनर्निर्माण गरेको हो।
समितिका अध्यक्ष कुशल गुरुङको नेतृत्वमा करिब ५ लाख रुपैयाँको लागतमा भवनको पुनर्निर्माण तथा मर्मत सम्पन्न गरिएको प्रहरीले जनाएको छ।
भवन हस्तान्तरण कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्की प्रमुख अतिथि रहेका थिए।
कार्यक्रममा इलाका प्रहरी कार्यालय शिशुवाका प्रमुख प्रहरी नायव उपरीक्षक गुणराज बुढाथोकी, जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक सुजित देवकोटा, स्थानीय जनप्रतिनिधि, उद्योग वाणिज्य संघ लेखनाथका अध्यक्ष, सामुदायिक सेवा केन्द्र कालिकाका प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी उपरीक्षक कार्कीले समाजमा शान्ति, सुरक्षा र अमनचयन कायम गर्न प्रहरी र नागरिकबीचको सहकार्य अपरिहार्य रहेको बताए।
उनले नेपाल प्रहरीको आवश्यकता र समस्यालाई आफ्नै सरोकारका रूपमा लिएर प्रहरी भवन पुनर्निर्माणमा योगदान पुर्याउने स्थानीयवासी तथा निर्माण समितिप्रति धन्यवाद व्यक्त गरेका थिए।
Copyright © 2024 | All rights reserved.